आमहड्ताल कडा, कलँकीबाट नेतृ अष्टलक्ष्मी सहित कार्यकर्ता पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

ओली सरकारले गरेको संवैधानिक निकायको नियुक्ती बिरुद्ध आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशव्यापी आमहड्ताल गरेको छ । सो आम हड्ताल सफल बनाउन यतीबेला सो समूहको विभिन्न नेता र कार्यकर्ता सडकमा उत्रिएका छन् । आज बिहान ५ बजेबाटै आम हडतालमा उत्रिएका नेकपा दाहाल नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरी ठाउँ ठाउँबाट पक्राउ गरेको छ ।

यसै क्रममा आज बिहान प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित अन्य नेता कार्यकर्तालाई पक्राउ गरेको हो । दाहाल नेपाल समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । तथापि सवारी साधनहरु चलेका छैनन् । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका केही कार्यकर्ताहरुलाई सोह्रखुट्टे, महाराजगञ्ज र नयाँ बानेश्वरबाट समेत पक्राउ गरिएको छ ।
सो क्षेत्रबाट नेता तथा कार्यकर्ताहरु पक्राउ गरिए पनि पुन कार्यकता भेला भएर फेरी आमहड्ताल कडा बनाईएको नेकपा दाहाल नेपाल समूहले बताएको छ ।