तारा देवीको स्मृतिमा ५ श्रष्टा सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

स्वर किन्नरी तारा देवीको १५ औं पुण्य स्मृतिमा तारा देवी स्मृति फाउण्डेसनले ५ जनालाई सम्मान गरेको छ । दिवँगत रचनाकार भैरवनाथ रिमाल कदम, दिवँगत संगीतकार गणेश परियार, गायिका ज्ञानु राणा, लामो समय गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपक केसी सम्मानित भएका हुन् ।

रचनाकार भैवनाथ रिमाल र संगीतकार गणेश परियारको फाउण्डेसनले सम्मान कार्यक्रम तय गरेपछि निधन भएका कारण कारण रिमालको सम्मानपत्र उनकी छोरी रेखा ढकालले र परियारको सम्मानपत्र उनकी नातिनी मारिया सुनामलाई हस्तान्तरण गरिएको थियो । रिमालको गत पुस २५ र परियारको माघ ४ गते निधन भएको थियो ।

गायिका ज्ञानु राणालाई भने कार्यक्रमका प्रमुख अतिथि विद्यासुन्दर शाक्य, फाउण्डेसनका सल्लाहकार शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द थापा, कोषाध्यक्ष रमेश थापा, महासचिव शोमन संैजु तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले संयुक्त रुपमा सम्मान गरे । सम्मानित व्यक्तिहरुलाई नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिएको थियो ।

त्यस्तै ४ घण्टा ५ मिनेट २० सेकेन्ड लगातार गीत गाएर वल्र्ड रेकर्ड कायम गरेका गायक तथा राज्यमन्त्री मानन्धर र प्रवल जन सेवा श्री चतुर्थ पदकबाट विभुषित फाउण्डेसनका अध्यक्ष दिपक केसीलाई पनि दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नलिना चित्रकारलाई पहिलोपटक स्टेजमा लगेको स्मरण गर्दै श्रष्टाहरुलाई महानगरपालिकाले संरक्षण गर्ने नीति लिएकाले सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर श्रष्टाहरुले रोयल्टी पाउनुपर्ने दाबी गर्दै यसलाई व्यवस्थित बनाउन अग्रसर हुने बताए ।
काठमाडौं महानगरपालिका वडा नं. ३ र फाउण्डेसनका अध्यक्ष दिपक केसीले कलाकारलाई सरकारले गहना भनेपनि अवसरवादी शैलीमा प्रयोग गर्ने गरेको बताए । वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले तारा देवीको संगीत यात्राको स्मरण गरे ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, गायिका ज्ञानु राणा, प्राश्ना शाक्य, सरिता शाही, एन्जेला श्रेष्ठ, सुजाता बर्मा, गीता पाण्डे, लाबोनी चक्रवर्ती, राजिव परियार, सरस्वती मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्मा, मनिता राई लगायत आस्था कलाकेन्द्रका नव प्रतिभाहरुले तारा देवीका विभिन्न गीतहरु गाएका थिए ।