बन्दिपुरबाट गणपतिको छायाँकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

चलचित्र ‘गणपति’ को छायांकन बिहिबारबाट तनहुँको बन्दीपुर गाउँपालिका थारुबासबाट सुरु भएको छ । सोही क्षेत्रका सबै छायाँकन सकेर युनिट काठमाडौं फर्कने छ । फिल्मको छायांकनका लागि निर्माण टिम बुधवार राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।

अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्मलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । उनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् । फिल्ममा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय रहनेछ ।

यसमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, अनिस अधिकारीले गीत तथा संगीत, अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर रहनेछ । गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ ।