ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

नायिका स्वस्तिमा खड्काले नारायण वाग्लेको चर्चित उपन्यासमा ‘पल्पसा क्याफ’मा आधारित रहेर सोही नाममा तयार भइरहेको नाटकमा अभिनय गर्दै छिन् । उनले नाटकमा यहीबाट डेब्यु गर्न लागेकी हुन् । नाटकमा पल्पसाको चरित्र अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गर्दैछिन् ।

मंगलबार अनामनगरको मण्डला थिएटरमा आयोजित कार्यक्रममा यो सम्बन्धी जानकारी गराइएको हो । उनले नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच रहेको र यसै समयमा पल्पसा बन्ने प्रस्ताव आएकाले सहर्ष स्वीकारेका बताइन् । उनले पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोही अनुसार तयारी गरिरहेको बताइन् ।

‘अहिले हामी यसको वर्कसप गरिरहेका छौं । यो चरित्रमा धेरै अपेक्षा छ । त्यो अपेक्षा पूरा गर्नेगरी मेहनत गरिरहेको छु,’ उनले भनिन् ।
नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ । सुरज सुवेदीले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् ।

कान्तिपुर दैनिकको सम्पादक रहँदा नै नारायण वाग्लेले ‘पल्पसा क्याफे’ लेखेका थिए । एक तहमा अड्किरहेको आख्यानको बजारलाई उचाइमा पुर्याउन सो उपन्यासको योगदान रहेको थियो । यो पुस्तक प्रकाशन भएकै आज १५ वर्ष नाघिसकेको छ । वाग्लेले ‘पल्पसा क्याफे’ को सिक्वेल चाहियो भन्ने धेरै पाठक पनि भेटेका छन् । मंगलबार वाग्लेले फेरि एक पटक यो प्रश्नको सामना गर्नु पर्यो, ‘ यति सफल किताबको सिक्वेल लेखुँ भन्ने लागेको छैन ?’ पत्रकारले सोधेको प्रश्नमा वाग्लेको जवाफ थियो, ‘ पल्पसा क्याफे मेरो पहिलो प्रेमपत्र हो । पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ त्यो दोहोर्याएर लेख्न सकिन्न । किनकि दोस्रो कहिलै पहिलो हुन्न ।’

‘पल्पसा क्याफे’ चाँडै नै उपन्यासबाट नाटकमा रुपान्तरण हुँदैछ । निर्देशक विमल सुवेदीले यसको नाट्य रुपान्तरण गरिरहेका छन् । यही नाटकको जानकारी दिने कार्यक्रममा उपस्थित हुँदै लेखक वाग्लले १५ वर्षपछि पनि उपन्यास आलो रहेको बताए ।

‘केही दिन अघि नेकपाका नेताले शाकाहारी हैन मांसाहारी आन्दोलन गर्नुपर्यो भनेर भाषणा गर्नुभयो । मांसाहारी आन्दोलनको घाउ अझै खाटा बसेको छैन,’ वाग्लेले भने, ‘ यसले पनि उपन्यास अझै सान्दर्भिक छ कि भन्ने जस्तो लाग्यो ।’

वाग्लेले यसअघि पनि उपन्यास नाटक वा फिल्मका लागि मागिएको भए पनि दिन मन नलागेको स्मरण गरे । तर, निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भए पछि नाट्य रुपान्तरणका लागि अनुमति दिएको खुलाए ।

‘तर, उहाँले स्क्रिृप्ट पढ्न दिनु भएको थियो जुन मैले आजसम्म पनि यत्तिकै राखेको छु । नाटकमा जुन पल्पसा आउँछ त्यो निर्देशकको कल्पना हो । मैले पढेँ भने त्यो कल्पनामा खलल पुर्याउँला भनेर पढिँन । तपाईंहरू जस्तै म पनि नाटक हेर्न उत्सुक छु,’ उनले भने ।

‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती’ आदि नाटक निर्देशन गरेका विमल सुवेदीले दुई वर्ष अघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए ।

‘बिहान घरबाट निस्किएको मान्छे बेलुका फर्कन्छ भन्ने आसमा परिवार हुन्छ । तर, कति परिवार पर्खेको पर्खै हुन्छ,’ सुवेदीले भने, ‘यही फुटप्रिन्टको प्रतीक्षामा बस्ने परिवारको आँखा सम्झेर यसलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।’ सुवेदीले लेखनका क्रममा धेरै दृष्टिकोणमा काम गरेको र तयार हुँदै गरेको नाटक पल्पसाको हजुरआमाको दृष्टिकोणबाट प्रस्तुत गर्ने निक्र्योल गरेको बताए ।

थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ । कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए ।