ओलीले थपे नौ जना नयाँ मन्त्री 


ब्युटी न्युज नेपाल 

काठमाडौं, १० पुष

विभिन्न मन्त्रीहरुले राजिनामा दिएर अर्को खेमामा गएपछि अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार साँझ आलीले ९ जना नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले अहिलेका मन्त्रीमध्ये दुई जनालाई हटाएका छन् भने ६ जनाको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले मणि थापालाई खानेपानी तथा सरसफाइ, टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, प्रभु साहलाई सहरी विकास र गौरीशकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेलाई वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र दावा लामालाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । विमला विश्वकर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस अघि राजीनामा दिनेहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरेका छन् । जसअनुसार भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनमा पठाइएको छ भने हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई भने कृषि तथा पशुपक्षी विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा दुई मन्त्रीलाई हटाएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाइएको हो ।

विश्वकर्मा २ चैत २०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर २०७६ मा भएको मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।

 

थप भएका मन्त्री

टोपबहादुर रायमाझी– ऊर्जा, जलस्रोत तथा सिँचाइ

प्रभु साह– सहरी विकास

मणि थापा– खानेपानी तथा सरसफाइ

प्रेम आले– वन तथा वातावरण

गणेश ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन

जुली महतो– महिला बालबालिका तथा ज्येष्ठ नागरिक

गौरीशंकर चौधरी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

दावा लामा– युवा तथा खेलकुद

विमला विश्वकर्मा– उद्योग राज्यमन्त्री

जिम्मेवारी हेरफेर

हृदेश त्रिपाठी– स्वास्थ्य तथा जनसंख्या

कृष्णगोपाल श्रेष्ठ– शिक्षा, विज्ञान तथा प्रविधि

भानुभक्त ढकाल– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

पद्मा अर्याल– कृषि तथा पशुपक्षी विकास

शिवमाया तुम्बाहाम्फे– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लीलानाथ श्रेष्ठ– कानुन, न्याय तथा संसदीय मामिला