प्रेम विनोदलाई राष्ट्रिय सम्मान, महेश आचार्यलाई वर्ष गीत पुरस्कार


ब्युटी न्युज नेपाल

नारायणगढ, चितवन, ५ पुष

 गीतकार संघ नेपालले वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई एक लाख ५१ हजार राशिको राष्ट्रिय सम्मानबाट सम्मानित गरेको छ । नारायणी कला मन्दिर चितवनको संयोजनमा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई अमर भावना राष्ट्रिय पुरस्कार–२०७६ बाट सम्मानित गरिएको हो ।

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतमा गीतकार नन्दनलाई सम्मान गरिएको थियो । उनले २०११ सालमै ‘झटारो’ गीति संग्रह प्रकाशन गरेका थिए । गजल, कविता तथा अन्य काव्यमा पनि कलम चलाउने नन्दन गायक, संगीतकार तथा कलाकार पनि हुन् । उनलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गोलसिमल’को संज्ञा दिएका थिए । सम्मान ग्रहण गर्दै गीतकार नन्दनले सम्मानले थप उर्जा र उत्साह थपेको बताए । ‘जीवनमा देखेका, भोगेका विषयलाई गीतमार्फत् प्रस्तुत गर्ने जमर्काे गरेको थिएँ,’ उनले भने, ‘यति ठूलो सम्मान पाउँला भन्ने कहिल्यै सोचेको थिइनँ ।’

८५ वर्षीय नन्दनका ६ वटा गीतिसंग्रह प्रकाशन भएका छन् । यसका अलावा उनले लेखेका दर्जनौं फुटकर गीतहरू नेपाली चलचित्रका लागि रेकर्ड भएका छन् । उनले लेखेका गीतमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जन लगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले आवाज दिइसकेका छन् । कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उनले लेखेका गीतहरू कालजयी बनेर अहिलेसम्म पनि गुन्जिने गर्छन् ।

त्यसैगरी यस वर्षको वर्ष गीत पुरकार गीतकार महेश आचार्यको गीत ‘थाहा छैन जिन्दगीमा’ बोलको गीतले चुम्न सफल भएको छ । आचार्यले ५७ हजार नगद राशिसहित वर्ष गीत पुरस्कार २०७६ प्राप्त गर्न सफल भएका हुन् । उनीसँगै उत्कृष्ट दशभित्र परेका गीतमा अरुण तिवारीको धेरैले धेरै कथा, किरण टि लिम्बूको अलिअलि हँसाउँदै, दिनेश सुवेदीको ए हेरन कान्छी, प्रकाश दुमी राईको एकजुनी त हो, भूपेन्द्र महतको मेरो सिरानीमै भिजेका, युवराज अधिकारीको आँशु आफैं पिउनू, रमेश दाहालको पूर्वको वादल उड्यो, एच. के. धितालको यता फाट्छ यतै टाल्छु र डीआर उपाध्यायको आफ्नै छातीबाट जस्ता गीतहरु रहेका थिए ।

९ जनाको गीतलाई पछि पार्दै निर्णायकहरुले महेश आचार्यको गीत ‘थाहा छैन जिन्दगीमा’ उत्कृष्ट बनाएका थिए । वर्ष गीत पुरस्कार छनोट समितिमा गीतकार सुरेन्द्र राना र सुवासचन्द्र ढुंगेल निर्णायकमा रहेका थिए ।

त्यसैगरी डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको थियो । भिखारी कार्यक्रममा उपस्थित हुन नसकेका कारण उनको प्रतिनिधित्व गर्दै संगीत संयोजक प्रदीप श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । गीतकार भिखारीलाई नगद रू. १५ हजार नगद राशिसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले काला, संस्कृतिको जगेर्नामा गीतकारहरूको भूमिका अतुलनीय रहेको बताए । राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरूमा गीत, संगीतले ठूलो सहयोग गरेको भन्दै उनले राज्यले यस क्षेत्रको विकासका लागि आवश्यक काम गर्दै जाने बताए । ‘देशमा धेरै परिवर्तनहरू आए, अहिले देशमा गणतन्त्र नै आइसक्यो तर जनताले यसको अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘परिवर्तनमा सघाउने कलाकारहरूले अब जनतालाई परिवर्तनको अनुभूति दिलाउन दबाव सृजना गर्नुप¥यो ।’

त्यस्तै गीतकार राजेन्द्र थापाले नन्दनजस्ता अग्रज कलाकारको पद पछ्याउँदै नेपाली संगीत क्षेत्र अघि बढिरहेको भन्दै राज्यले पनि कलाकारको सम्मान गर्नुपर्ने बताए ।

संघका अध्यक्ष चुडामणि देवकोटाले नेपाली गीतकारका उत्कृष्ट रचनाहरूकै कारण भारतीय गीत, संगीतको प्रभाव कम हुँदै गएको बताए । उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले संघले गीतकारहरूलाई सम्मान गर्दै आएको देवकोटाले बताए । उनले कोरोना भाइरसको महामारीबीच पनि अग्रज कलाकारको सम्मानका लागि उपत्यकाबाहिर कार्यक्रम राखिएको बताए ।

गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नारायणी कला मन्दिरका अध्यक्ष, पूर्व अध्यक्षहरु, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष, वरिष्ठ गीतकार राजेन्द्र थापा, अमर भावना गीत पुरस्कार राशिका दाता अमर वान्तु राई, संघका पूर्व अध्यक्ष योगेन्द्रमणी दाहाल लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका लागि काठमाडौंदेखि गएका सम्पूर्ण गीतकारहरुलाई नारायणी कला मन्दिरका पदाधिकारीहरुले रात्रीभोजको आयोजना गर्दै सांगीतिक स्वागत गरेका थिए । कार्यक्रम संघका सचिव सुशिला पौडेलले संचालन गरेकी थिइन् ।

यसअघि २०६९ सालमा रत्नशम्शेर थापा, २०७० सालमा किरण खरेल, २०७१ सालमा यादव खरेल, २०७२ सालमा भैरवनाथ रिमाल ‘कदम’, २०७३ सालमा राजेन्द्र थापा, २०७४ सालमा कालीप्रसाद रिजाल र २०७५ सालमा नगेन्द्र थापा राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित भएका थिए

त्यस्तै कार्यक्रममा गीतकार, गायक, संगीतकार तथा प्राज्ञ सुनिल मास्केले गीतकार संघलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।