संसद विघटनको विरोधमा ७ जना मन्त्रीले दिए पदबाट राजिनामा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुष

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विधादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध गर्दै सात मन्त्रीले एक प्रेस भेटघाट कार्यक्रम आयोजना गर्दै आफ्नो मन्त्री पदबाट सामूहिक राजीनामा दिएका छन् ।

राजिनामा दिने मन्त्रीहरुमा नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगरले सामुहिक राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीको संसद विघटन निर्णय गैर संवैधानिक र अहिलको अबस्थामा मुलुकका लागि अहितपूर्ण भएको यी मन्त्रीहरुको ठहर छ ।
उर्जामन्त्री वर्षमान पुनले पत्रकार भेटघाटमा बोल्दै अहिलेको यो गल्तीलाई सच्याउन प्रधानमन्त्रीलाई दबाव होस् भनेर सामूहिक राजीनामा दिएको उनले बताए । आफुहरुले आवेगमा राजीनामा नदिएको पनि उनले प्रस्ट पारे । अन्य मन्त्रीहरुले पनि प्रधानमन्त्रीको अहिलेको कदम पूर्ण रुपमा गलत भएको बताए । यसले देशमा अस्थिरता ल्याउने पनि उनीहरुले दाबी गरे ।