फस्टलुकमा आयो ‘माया बस्छ कि के हो’


ब्युटी न्युज नेपाल
काठमाडौं १ पुष

चलचित्र ‘माया बस्छ कि के हो’ को फस्टलुक (पोस्टर) सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा फस्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो ।

नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टरमा उनीहरुलाई नै फोकस गरिएको छ । शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् । हल खुलेपछि प्रदर्शन मिति तय गरिने फिल्मको एसोसिएट डिरेक्टरमा आशुतोष अधिकारी र मुख्यसहायक निर्देशकमा दीपक अधिकारी छन् ।

कार्यक्रममा निर्देशक अधिकारीले आफूहरु गुणस्तरिय फिल्म निर्माणको पक्षमा रहेको बताउदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दावी गरे । उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम,स्वीजरल्याण्ड, र नेदरल्याण्डका बिभिन्न स्थानमा खिचिएको जानकारी दिए । त्यसैगरी, प्रस्तुतकर्ता शरदले बिशेषत युवा पुस्तालाई लक्षित गरिएको भए तापनि ‘माया बस्छ कि के हो’ ले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए ।

डेब्यु अभिनेता सोनालले आफूले भरपुर मिहीनेत गरेको बताउदै यो फिल्मले आफूलाई अभिनेताका रुपमा स्थापीत गराउने बिश्वास ब्यक्त गरे । अभिनेत्री कस्मताले पनि ‘माया बस्छ कि के हो’ बाट आफूले अभिनेत्रीका रुपमा माया पाउने आशा ब्यक्त गरिन् ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उनले सरकारले छिट्टै नै हल खुलाउने तयारी गरिरहेको जानकारी दिदै फिल्म र टिमलाई शुभकामना ब्यक्त गरे । कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेती, महासचिव जनकदीप पराजुली, अग्रज पत्रकार तथा निर्देशक गीतकार डब्बु क्षत्रीलगायतले पनि फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रेसमिटमा प्रदर्शन गरिएको ‘माया बस्छ कि के हो..’ बोलको शीर्ष गीत शुक्रबार साइराम पिक्चर्सको युट्यवमार्फत सार्वजनीक हुने जानकारी दिइएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको सो गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । गीत बेल्जियम,स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा रबिन्द्र बरालले खिचेका हुन । बिपीन मल्लले सम्पादन गरेको फिल्ममा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा,नरेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।