गीतकार संघद्धारा उत्कृष्ट १० गीतसँगै पुरस्कृत घोषणा 


ब्युटी न्युज नेपाल

काठमाडौं २६ मंसिर

गीतकार संघ नेपालको वार्षिक कार्यक्रम राष्ट्रिय स्रष्टा सम्मान तथा वर्ष गीत पुरस्कार यस वर्ष ४ पुषमा काठमाडौंमा एक समारोहबीच हुने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी पुष ४ गते नारायणगढमा कार्यक्रम गर्ने जानकारी दिएको छ ।

यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान विशिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई नगद १ लाख ५१ हजार राशिसहि र ताम्रपत्रले सम्मान गरिने भएको छ । ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७६’ द्वारा गीतकार नन्दनलाई सम्मान अर्पण गर्न लागिएको संघका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए । चितवनमा बसेर बि. सं. २०११ सालदेखि निरन्तर नेपाली गीत लेखनमा क्रियाशील रहेका विशिष्ठ गीतकार नन्दनको योगदानको उच्च मूल्याङ्कन गरी सम्मान गर्न लागिएको कुरा संघका अध्यक्ष देवकोटाले बताए ।

समारोहमा हरेक बर्ष प्रदान गरिंदै आएको डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गर्ने संघले जनाएको छ । गीतकार भिखारीलाई नगद रू. १५ हजार र प्रमाणपत्र सहित सम्मान गरिने छ ।

यस वर्षको वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट दशको नामावली पनि सार्वजनिक गरिएको छ । उत्कृष्ट दशभित्र परेका गीतमा अरुण तिवारीको धेरैले धेरै कथा, किरण टि लिम्बूको अलिअलि हँसाउँदै, दिनेश सुवेदीको ए हेरन कान्छी, प्रकाश दुमी राईको एकजुनी त हो, भूपेन्द्र महतको मेरो सिरानीमै भिजेका, महेश आचार्यको थाहा छैन जिन्दगीमा, युवराज अधिकारीको आँशु आफैं पिउनू, रमेश दाहालको पूर्वको वादल उड्यो, एच. के. धितालको यता फाट्छ यतै टाल्छु र डीआर उपाध्यायको आफ्नै छातीबाट बोलका गीत छनोट भएका छन् । छानिएका उत्कृष्ट १० गीत मध्येबाट विशेष समितिले चयन गरी सर्वोत्कृष्ट एक गीतलाई नगद ५७ हजार राशिसहित सम्मान गरिने संघले जनाएको छ ।

गत वर्षहरुमा राष्ट्रिय स्रष्टा सम्मानको राशि एक लाख थियो भने यसवर्षबाट एक लाख ५१ हजार नगद राशि पु¥याइएको छ भने वर्ष गीत पुरस्कारको राशि ५१ हजारबाट ५७ हजार पुर्याइएको छ ।संस्थामा आवद्ध सदस्यहरुको रचनामा २०७६ मा सार्वजनिक भएका र प्रतिस्पर्धाका लागि संघले आह्वान गरेपछि दर्ता हुन आएका गीतहरु मध्येबाट छनोट समितिको सिफारिसमा उत्कृष्ट १० गीतको छनोट गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

संघले हरेक बर्ष आफ्नो स्थापना दिवस जेठ १४ गतेका दिन आयोजना गर्दै आएको यो कार्यक्रम यसवर्ष भने कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएकाले पछाडि सरेको थियो । संघले प्रत्येक वर्ष एक विशिष्ठ गीतकारलाई राष्ट्रिय स्रष्टा सम्मान, वर्षगीत पुरस्कार, वर्ष गीत पुस्तक पुरस्कार र डायस्पोरा गीतकार सम्मान प्रदान गर्दै आईरहेको छ । प्रतिस्पर्धाका लागि पर्याप्त पुस्तक दर्ता हुन नआएकोले बर्षगीत पुस्तक पुरस्कार भने यो बर्ष स्थगन भएको कुरा संघले जानकारी गराएको छ ।