दयाराम, रबिन्द्र र बिक्रम सम्मानित, संगीतकर्मी संघ काभ्रेमा चन्दको नेतृत्व


ब्युटी न्युज नेपाल

काभ्रे, २१ मँसिर

कलाक्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पुर्याउँदै आएका तीन कलाकर्मीलाई सम्मान गरिएको छ । संगीतकर्मी संघको काभ्रे अधिवेशनको अवसरमा उनीहरुलाई बनेपामा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो ।

सो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव एवम् कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाहलाई सम्मान गरिएको हो । कार्यक्रमका अध्यक्ष नेपाल नगरपालिका संघका एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए । यी तिनै जना काभ्रेका कलाकार हुन् ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समेट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए ।

यसै अवसरमा कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पुर्याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको वकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।

संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।

सोही क्रममा सम्पन्न राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले पुनः कलाकार निर्देशक तथा गीतकार अमरकृष्ण चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर रहेका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।