चितवनमा राजाबादीहरुको बृहत र्याली


ब्युटी न्युज नेपाल
चितवन, २० मंसिर

बर्तमान सरकार विभिन्न कारणले विवादमा तानिएपछि सरकारप्रति धेरैको आशा मर्न थालेको छ । यसै क्रममा राजाबादीहरु यतीबेला सक्रिय भएका छन् । संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजाबादीहरुले शनिबार बृहत र्याली निकालेका छन् । सो र्याली हेर्दा अहिलेको सरकारप्रति जनतामा बितृष्ण बढ्दै गएको देखिन्छ ।

सोही कारण पनि यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै चितवन लगायत देशका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन् । यो दृष्य शनिबार चितवनमा पनि देख्न पाईयो ।

शनिबार मध्यान्ह १ बजे भरतपुरको केन्द्रीय बस र्टमिनलबाट सुरु भएको र्याली हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क – आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन भएको छ । राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्यालीको आयोजना गरेको बताए ।

र्यालीमा भरतपुर महानगरपालिका, राप्ती, रत्ननगर, कालिका, माडीलगाएका क्षेत्रबाट र छिमेकी जिल्ला नवलपुरबाटसमेत देशभक्त स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो । प्रर्दशनमा युवाहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए ।