ब्युटी न्युज नेपाल
बर्दिबास, १० मंसिर

महोत्तरीको बर्दिबासमा मँगलबार बिहानबाट सुरु भएको आन्दोलन अझै सेलाएको छैन । मँगलबार आन्दोलनमा उत्रिएको भन्दै प्रहरीले हानेको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएपछि आज बिहानैबाट आन्दोलन झनै चर्किएको छ । उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

हिजो प्रहरीले हानेको गोली दुवै तीघ्रामा लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएका छन् । मृतक संजय चुरेभावर पार्टीका  हुन् ।

प्रहरीले आन्दोलन मत्थर पार्ने नाममा ज्यादती देखाउँदै मनपरी रुपमा अश्रूग्याससँगै गोली प्रहार गर्दा मँगलबार ३ जना सख्त घाईते भएका थिए । जसमध्य सँजयको ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार बर्दिबासमा आन्दोलन चर्किएपछि शान्ति सुरक्षाका लागि निषेधाज्ञा जारी गर्ने बारे सुरक्षा निकायसँग छलफल भईरहेको छ ।

बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कार पनि हत्या गरेर फालिएको अबस्थामा उनको शव सोमबार भेटिएपछि स्थानीय आक्रोसित भएका हुन् । ती बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । हत्याको आरोप लागेका साहको घरमा मंगलबार बिहान आक्रोशित स्थानीयले आगजनीसमेत गरेका थिए । घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । शाहका परिवार भागेर अन्यत्र गएका छन् ।

यता सँजयको मृत्यु भएपछि चुरेभावर लगायत अन्य राजनीतिक पार्टी र स्थानीयको अगुवाईमा बर्दिबासमा बुधबार बिहानैबाट आन्दोलन सुरु भएको छ । मँगलबारको आन्दोलनमा प्रहरीले अन्धधुन्ध अश्रुग्याससँगै गोली प्रहार गरेर ज्यादती गरी एक जनाको ज्यान लिएको र २ जनालाई गँभिर घाईते बनाएको स्थानीयको आक्रोस छ ।

अहिले बर्दिबासको राजमार्ग सडक खण्ड बन्द गरिएको छ । अहिले पनि राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।