ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

चलचित्र पत्रकार गोकर्ण गौतम अब हामीमाझ रहेनन् । ३१ वर्षको उमेरमो उनको विहिबार बिहान उपचारको क्रममा बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको छ ।

मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार न्युरो अस्पतालमा भर्ना भएका थिए । सो अस्पतालमा मस्तिष्कको शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानएको छ । उनी गहन ढंगले फिल्म समीक्षा गर्ने पत्रकारको रुपमा परिचित थिए । उनी पछिल्लो पुस्ताका प्रखर सिने समीक्षक थिए ।

गत वर्ष बैबाहिक जीवनमा बाँधिएका गौतमको बिहीवार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विभिन्न सञ्चारकर्मीसँगै अभिनेता दयाहाङ राई, विपिन कार्की, राजन खतिवडा, केदार घिमिरे, भोलाराज सापकोटा, अभिनेत्री रेखा थापा, सरिता गिरी, रोशनी केसीसहित विभिन्न चलचित्रकर्मी, संगीतकर्मी, शुभचिन्तकले आर्यघाट पुगेर बिहिबार दिउँसो दिवँगत पत्रकार गोकर्ण गौतमप्रति श्रद्धाञ्जली अर्पण गरे ।

गत वर्षदेखि कान्तिपुर दैनिकमा कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका उनी यसअघि नेपाल साप्ताहिकमा कार्यरत थिए । उनले देशान्तर साप्ताहिकबाट एक दशकअघि पत्रकारिता सुरुवात गरेका थिए ।