यादका लहरहरुमा राजेश र करिश्माको यस्तो माया


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ मँसिर

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले सँगै चलचित्र नखेलेको दशक नाघ्यो । तर यी दुई कलाकार बेला बेलामा म्युजिक भिडियोमा देखिने गरेका छन् । यसै क्रममा यी दुईले यतीबेला नयाँ गीत यादका लहरहरु…मा सँगै जोडी बनेर अभिनय गरेका छन् ।

यो गीत निकै कर्णप्रिय बनेको छ । गीतलाई गायिका अञ्जु पन्तले निकै माधुर्यसँग गाएकी छिन् । यो गीतलाई गायक राज सागरले संगीत गरेका हुन् । उनी पछिल्ला पुस्ताका रुचाईएका गायक तथा संगीतकार हुन । गीतलाई डा. प्रकाश पौडेलद्धारा रचना गरिएको हो । जसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो पनि त्यतिकै आकर्षक बनेको छ । भिडियोमा राजेश र करिश्मालाई लामो समयदेखि प्रेममा रहेको देखाईएको छ । उनीहरु एक अर्काको यादमा डुवेका देखिन्छन् । यादका लहरहरुमा हराएको देखिन्छन् ।

भिडियोको निर्देशन हरि हुमागाईंले गरेका हुन् । प्रविण श्रेष्ठको सम्पादन रहेको यो भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् । भिडियोलाई एशियन म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।