गीतकार मोडल दर्पणले ल्याए माया यस्तो बनोस हाम्रो


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

गीतकार दर्पण राईको नयाँ गीत माया यस्तो बनोस् हाम्रो…को भिडियो दर्शक तथा श्रोतामाझ आएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् । एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् ।

मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । त्यसैले यो गीत तयार गर्दाखेरी नै भिडियो कन्सेप्ट फिल्मीशैलीमा तयार गरिएको बताईएको छ ।

मोडल तथा गीतकार दर्पणका आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । तर, परिचय उही छ, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतका गीतकार दर्पण राई । आधुनिक गीतमा एउटा इतिहास बनाउन सफल ‘तिम्ले बाटो फेरेऊ अरे’ १ र २ ल्याएका दर्पण भन्छन्, ‘यो गीतबाट पनि अपेक्षित छु ।’ तर, त्यति सजिलो छैन, बरु दर्पणका लागि यो एउटा चुनौती पनि हो ।

मीठास र कर्णप्रिय गीतको भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।’ हो, यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकि यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको भर्याङ पनि हो ।

यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् । भिडियो एउटै घरमा सक्नुचाहिँ निर्देशक चाम्सको खुबी मान्नुपर्छ । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।