पूर्व शभामुख कृष्णबहादुर महरालाई पत्नी शोक 


ब्युटी न्युज नेपाल

काठमाडौं, १९ कात्तिक

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनकी पत्नी सीता महराको ५९ वर्षको उमेरमा कोरोना सँक्रमणका कारण निधन भएको छ । काठमाडौंको नर्भिक हस्पिटलमा उपचारकै क्रममा उनको आज बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई १३ कात्तिकमा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । स्वासप्रश्वासमा निकै समस्या भएपछि १५ कात्तिक भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा सीता महराको जन्म भएको थियो । कृष्णबहादुर महरासँगै २०३५ सालमा उनकोे विवाह भएको थियो । सिताका दुई छोरा र दुई छोरी रहेका छन् । महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिईन् । त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए । सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिईन् ।