ब्युटी न्युज नेपाल
काठमाडौं, २ कात्तिक

गायक हरी लामीछानेले दशैंको शुभकामना सहित नयाँ गीत रिलीज गरेका छन् । अमेरिकाको टेक्सस् राज्यमा बसेर नेपाली पप संगीतमा योगदान दिदै आएका उनले आफ्नै संगीत र स्वरमा सुक्यो होला हिलो मैलो… गीतको अडियो र भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियो सुब्रत राज आचार्यले निर्देशन गरेका छन् । भिडियोले गाउँघर, परिवार, आमा(बुबा, साथीसंगी, प्रेमीहरुको माया, चाडपर्वहरुलाई रंगीन बनाउने लिंगे पिङ, लंगुरबुर्जा, सयपत्री, जमरा र मिठो आशिर्वादको सम्झना गराउँछ ।

गीतमा बालकलाकारहरु आर्शिना भट्टराई र प्रनिश श्रेष्ठको साथमा सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिशा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय रहेको छ । उत्सव दाहाल र आकाश रंजितको सिनेमाटोग्राफी रहेको भिडियोमा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ भने कन्सेप्ट जया शर्माको हो ।

गायक लामिछाने भन्छन्, ’बडा दशैंको शुभकामना सहित परदेशमा बसेर घरदेश सम्झना गर्नेहरु प्रति समर्पित गरेर यो गीत तयार पारेको हुँ । गीतले देशबाट टाढा भएकाहरुले दशैं सम्झेको भाव प्रस्तुत गरेको छ’ उनि थप्छन्, ‘घरबाट टाढा पुगेका हामीहरुको मन दशैंको बेलामा त्यसै रुन्छ । गाउँघरको सम्झना, चाडपर्वको मिठो तिर्सना, साथीभाईसँग बिताएका रमाईला पलहरु, आमा(बुबा र आफन्तहरुको मिठो सम्झनाले हामीलाई सधै ’नोस्टाल्जिक’ बनाउँछ । त्यहि ’नोस्टालजिया’लाई गीतकार सहदेव पौडेलले मार्मिक ढंगले कोर्नु भएको रहेछ । र मलाई यो मेरै कथा जस्तो लागेर तयार पारेको हुँ’ । लामिछानेले यस अघि ’साईन इन’ नामक गीती एल्बम ल्याएका थिए ।