बिनितले ल्याए मानसिक तनाव कम गर्ने गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असोज

कोरोना भाइरसले विश्वभर अर्को महामारीलाई जन्म दिइरहेको छ । हरेक दिन कोरोनाको संक्रमणबाट सयौँ मानिसको मृत्यु, आइसोलेसन र भय पैदा हुँदा विश्वव्यापी रूपमा मनोवैज्ञानिक चोट उत्पन्न भएको छ । जसका कारण डिप्रेसन, दुर्व्यबहार र आत्महत्याजस्ता समस्या बढेका छन् । यसबाट नेपाल पनि अछुतो छैन । यस्तैमा, कोरोनाले निम्त्याएको मानसिक समस्यालाई गायक विनित श्रेष्ठले ‘केही बोल न’ बोलको गीतमा उतारेका छन् ।
बिहीवार यूट्युबमा सार्वजनिक भएको गीतमा गायक श्रेष्ठकै शब्द तथा संगीत छ ।

यो गीतलाई सारंगीको धुनले गीतलाई थप मिठासपूर्ण बनाएको छ । अहिलेको समयमा धेरैले भोग्दै आएको समस्यालाई गीतमार्फत् भन्न खोजिएको गायक श्रेष्ठले बताए । यूट्युबमा गीत सार्वजनिक भएसँगै दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ । मानसिक समस्यामा रहेकालाई गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गायक श्रेष्ठको विश्वास छ ।

भिडियोमा एक युवतीलाई एक्लोपनले सताउँदाको पीडा देखाइएको छ । कलात्मक शैलीमा खिचिएको भिडियोमा कृष्टि पौडेल फिचर छिन् । उनको अभिनय मनछुने छ । बाबु श्रेष्ठले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् । अभि श्रेष्ठ निर्देशित भिडियोमा दीपेन्द्र ठकुरीको कोरियोग्राफी छ ।