महारानीलाई मदन पुरस्कार, शान्तिलाई जगदम्बा श्री पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

मदन पुरस्कार गुठी यो वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गर्ने घोषणा गरेको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार र नेपाली फिल्मको गीतमा संगीत भर्ने पहिलो महिला संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दिक्षितले एक विज्ञप्ति जारी गर्दै बिगतमा घटस्थापनाको दिन प्रदान गरिँदै आएको यो पुरस्कार यस पटक स्थिति सामान्य भएपछि वितरण गरिने बताएका छन् । २०७६ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट मनोनयनमा परेको विभिन्न पुस्तकलाई उछिन्दै महारानी मदन पुरस्कार बिजेता घोषित भएको हो ।

यस पटक यो पुरस्कारका लागि महारानी, जोकरको बन्दुक, धर्सैधर्साको चक्रब्युह, परित्यक्ता, महारसनिघाण्टु, मोहपथ र यात्रामा गरी ७ ओटा पुस्तक मनोनयनमा परेका थिए ।

यसपटक मदन पुरस्कार जित्न सफल यो उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो । लेखक बानियाँले यो उपन्यासमा नेपाल एकिकरण हुनुभन्दा अघिको कथा उठाएका छन् । विवाह हुन लाग्दा अर्को राज्यसँग साटीएकी एक महारानीको सँघर्षको कथा यो उपन्यासमा समेटिएको छ । ४५० रुपैयाँ मूल्य रहेको यो पुस्तकलाई शिखालाई गत माघबाट बजारमा ल्याएको थियो ।

यस्तै यसपटक जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत हुने शान्ति ठटाल नेपाली चलचित्रको पहिलो महिला संगीतकार हुन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘म्हेन्दो’ मा आधारित सांगीतिक सृजना पनि गरेकी छन् ।

अम्बर गुरुङको संगीतमा ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’ जस्ता कालजयी गीतबाट चर्चित बनेकी ठटालले नेपाली फिल्म ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’ को गीतमा संगीत गरेर फिल्ममा संगीत भर्ने पहिलो महिलाका रूपमा आफुलाई चिनाएकी हुन् ।

रवीन्द्र भारती विश्वविद्यालयबाट औपचारिक संगीत शिक्षा प्राप्त गरेकी गायिका ठटाल पछिल्लो समय सक्रिय गायनबाट अवकाश लिएर दार्जिलिङमा बस्दै आएकी छन् । सन् १९३८ मा दार्जिलिङमा जन्मिएकी उनी तत्कालीन राजा महेन्द्रको जन्मदिनमा गाउन पहिलो पटक सन् १९६५ मा काठमाडौँ आएकी थिइन् ।

२०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालबाट प्रदान गर्न थालिएको पनि अध्यक्ष दिक्षितले बताएका छन् । यस्तै २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरुप जगदम्बा–श्री पुरस्कार स्थापना गरेर प्रदान गर्न थालिएको पनि अध्यक्ष दिक्षितले जानकारी गराएका छन् ।