राजेश हमालले गरे ११३ जना प्राविधिकलाई आर्थिक सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

केही समय अघि प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेका अभिनेता राजेश हमालले सो सहयोग प्रदान गरेका छन् । काठमाडौंको बिजय मेमोरियल स्कुलका प्राँगनमा उनले ११३ जना प्राविधिकलाई जनही ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका हुन् । सबै प्राविधिकलाई आफ्नो हातबाटै आर्थिक सहयोग हस्तान्तरण गर्दै सो कार्यक्रममा अभिनेता हमालले भने,‘चलचित्र निर्माणमा क्यामेरा पछाडि बस्ने प्राविधिकहरुको महत्वपूण हात हुन्छ । तर अरुको तुलनामा उहाँहरुको पारिश्रमिक निकै कम हुने भएकाले प्राविधिकहरुको अबस्था अहिले निकै जटिल छ ।’ सोही कारण आफुले उनीहरुलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग नै प्रदान गरेको पनि उनले बताए ।

नेपालमा कोरोना सँक्रमणका कारण बिगत ६ महिना देखि चलचित्रको छायाँकन हुन सकेको छैन । यस्तो अबस्थामा कतिपय प्राविधिकहरुलाई हात मुख जोर्न गाह्रो परिरहेको छ । आफु पनि समस्यामै रहेको र अमेरिकामा आफुले कार्यक्रम सञ्चालन गरेबापत प्राप्त केही रकम र साथीहरुबाट प्राप्त रकमबाट यो सहयोग गरेको पनि राजेशले बताए ।

। अरुले पनि उनीहरुकालागि सहयोग गर्नु पर्ने अपिल अभिनेता हमालले सो क्रममा गरे ।

अहिले आफु विभिन्न फिल्मको स्कृप्ट पढ्न व्यस्त भएकाले चाँडै नयाँ फिल्मको काम आफुले सुरु गर्ने पनि उनले सो कार्यक्रममा बताए । नेपाल चलचित्र प्राविधिक संघका अध्यष पुष्कर लामाले हमालको सो सहयोग प्रति कार्यक्रममा धन्यबाद ज्ञापन गरे ।