हालसम्म कोरोनाबाट बिदेशमा २४४ नेपालीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता बिदेशमा थप १ जना नेपालीको निधन भएको छ । यो साता अमेरिकामा थप १ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए । स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ ।

समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।