बिदेशमा अलपत्र परेका ६१ हजार ७१० नेपालीको उद्धार


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विभिन्न देशमा अलपत्र परेका, नेपालीको उद्धार कार्य जारी छ । आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीहरुको हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा उद्धार कार्य जारी छ । हालसम्म ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।

साउदीमा ६० शव अलपत्र
साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

गैरआवासीय नेपाली संघको अनुरोध
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेका छन् । विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गरे ।

संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनको अपिल छ । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले अनुरोध गरेका छन् ।