सिन्धुपालचोकमा फेरी भिषण पहिरा, १८ घर पुरिए, १२ जना बेपत्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ भदौ,

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा पहिरो जाँदा नागपुजे र भिरखर्कमा १९ घर पहिरोमा पुरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी गराएका छन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको शेर्पाले बताएका छन् ।

घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुग्दैछ भने सभामुख अग्नि सापकोटा लगायतका व्यक्तिहरु पनि त्यहाँ गईरहेका छन् ।
सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो । बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।