आज १२०२ जना सँक्रमित, थप १४ को कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ भदौ

नेपालमा आज शुक्रबार थप १ हजार २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १७६ नमूना परीक्षण गर्दा देशभर आज १ हजार २०२ सङ्क्रमित फेला परेका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सँख्या ५३ हजार १२० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कुल ४३१ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताए । जसमा काठमाडौंमा ३७७ जनामा कोरोना सँक्रमण देखिएको छ भने ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सँक्रमण पुष्टी भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आईसोलेसन सेन्टर तथा होम आईसोलेसनबाट ८५२ जना कोराना मुक्त भई डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै हालसम्म नेपालमा ३७ हजार ५२४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

यतीबेला देशका विभिन्न आइसोलेसनमा रहेर १५ हजार २६० जनाले उपचार गरिरहेको पनि डा. गौतमले बताए । यस्तै यतीबेला देशका विभिन्न क्वारेन्टिनमा ६ हजार ३५४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट नेपालमा १४ जनाको मृत्यु भएको छ । मृतकमा ३ जनाम महिला र ११ जना पुरुषहरु रहेका छन् । मृतक महिलामा पर्साको १ जना, काठमाडौंका १ जना र तनहुँको १ जना रहेका छन् । यस्तै मृतक ११ जना पुरुषमा काठमाडौंको २ जना, भक्तपुरको २ जना, चितवनको १ जना, स्याङजाको १ जना, गोरखाको १ जना, कास्कीको १ जना र रुपन्देहीको २ जना रहेका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३३६ जना पुगिसकेका छन् ।