सवारी दुर्घटनामा चलचित्र सम्पादक अनिल गौतमको निधन


ब्युटी न्युज नेपाल
काडमाडौं, २७ भदौ

चलचित्र सम्पादक अनिल गौतमको ५२ वर्षको उमेर सडक दुर्घटनामा परी शुक्रबार राती निधन भएको छ । उनी शुक्रबार बेलुका साढे दश बजे आफ्नो कार्यालय प्राईम टाईमको अफिसबाट भक्तपुरको कौशलटार घर जाने क्रममा कोटेश्वरमा दुर्घटनामा परेका हुन् । उनी सबार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो ।

दुर्घटना लगत्तै गौतमलाई बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भइसकेको चिकित्सकले जनाएका थिए ।

उनी केही समय यताबाट प्राइम टाईम्स टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरत थिए । प्राइम टाईम टिभीका सिइओ निर्जल श्रेष्ठका अनुसार उनी कार्यालयको काम सकेर घर जाने क्रममा टिप्परको ठक्करमा परेका हुन् । गौतमको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो

करिब तीन दशकदेखि उनी चलचित्र सम्पादकको रुपमा कार्यरत थिए । गौतमले थुप्रै चलचित्रमा सम्पादकका रुपमा काम गरेका छन् । गौतम सहायक सम्पादक सम्पादकको रुपमा नेपाल चलचित्र विकाश कम्पनी बालाजुबाट २८ वर्ष अघि नै काम सुरु गरेका थिए । त्यसपछि नेगेटिभमा फिल्म सम्पादन गर्ने सम्पादक हुँदै डिजिटलमा पनि उनले कैयौं फिल्म सम्पादन गरेका थिए । दिवँगत सम्पादक गौतम प्रति व्युटी न्युज नेपाल परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।