उर्मिलाको गीतमा पूजा शर्मा र राजको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भदौ

पछिल्लो समय चलचित्रको छायाँकन छैन । यो मेसोमा अधिकाँस अभिनेता अभिनेत्री म्युजिक भिडियोमा व्यस्त छन् । यस्तै अभिनेत्री पूजा शर्मा पनि अर्को नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएकी छिन् ।

अभिनेत्री पूजाले कलाकार राज कटुवालसँग नयाँ गीत ‘लिन आउँछु भन्थ्यौ…’को म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । यो गीतलाई अहिलेको सफल युवा गीतकार दिग्गज धौरालीले लेखेका हुन् । शब्द निकै राम्रो छ । यो गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।

यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालको अभिनय पनि त्यतिकै राम्रो छ । गीतमा यी दुईको जोडी जमेको छ । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।