गायक हेम श्रेष्ठले यसपालीको दशैंलाई रेकर्ड गरे नयाँ भाका


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

यसपटकको दशैं कात्तिकको पहिलो साता परेको छ । तर नेपाली गायक गायिकाहरुलाई अहिलेबाटै दशैंको रमझमले छोईसकेको छ । सोही कारण थुप्रै गायक गायिकाहरु यतीबेला दशैं तिहार गीत निकाल्नमा व्यस्त छन् ।

यसै क्रममा गायक तथा संगीतकार हेम श्रेष्ठले यो वर्षको दशैंको लागि नयाँ दशैं भाका तयार गरेका छन् । यसपटक यो दशैं गीतलाई गायक हेम श्रेष्ठ र गायिका सरिता भारतीले गाएका छन् । कांठे लोकदोहोरी भाकामा यो दशैंगीत आकर्षक बनेको छ । थुप्रै पश्चिमेली लोक भाका गाएकी गायिका सरिताको यो पहिलो कांठे लोकदोहारी भाका हो । पछिल्लो समय गायिका सरिताको महिनामा ३/४ ओटासम्म गीतहरु रिलिज भईरहेका छन् ।

यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजन गरेका हुन् । कांठे भाकामा दर्जनौ गीत गाएर आफ्नो परिचय बनाईसकेका गायक हेम श्रेष्ठ यो गीतबाट निकै आशाबादी छन् ।

अग्रज गीतकार डब्बु क्षत्रीको शब्द रहेको यो नयाँ दशैं गीतमा हेमकै भाका रहेको छ । काठमाडौंको अनामनगर स्थित एक्सन स्टुडियोमा यो गीतको सोमबार दिउँसो रेकर्ड गरिएको छ ।

विभिन्न समस्याले बिदेशमा रहेर दशैंमा घर आउन नपाएका नेपालीहरुको व्याथा यो गीतमा समेटिएको छ । गीत बियोगान्त तर आशाबादी भावको छ । काठमाडौंमा निषेधाज्ञा हटेपछि यो गीतको भिडियो छायाँकन गरिने भएको छ । गीतको भिडियो अब असोजको पहिलो साता भित्र रिलिज गर्ने पनि गायक तथा संगीतकार हेम श्रेष्ठले बताएका छन् ।