हालसम्म बिदेशबाट ५६ हजार ७७७ नेपालीको उद्धार


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्धार कार्यजारी रहेको छ । कोरोना भाइरसको संक्रमण पछि भएको विश्वव्यापी लकडाउन पछि गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीहरुको शब नेपाल ल्याईएको छ ।

यसै बीच मध्यपूर्वका ४ देशमा लागु हुने आईएलओको परियोजनाको लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपुर्वका देशहरुमा रहेका नेपालीहरुको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । ज्ञवालीले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनको भनाई थियो । नेपाल फर्केका नेपालीहरुको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उनले गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण पछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले कोभिड –१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी गराए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरुको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए ।

संघको सक्रियतामा शुक्रवार सम्पन्न बैठकमा कतार, मलेसिया, युएई र साउदी अरबस्थित नेपाली राजदुतहरु, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षहरु लगायतको उपस्थिति थियो ।