राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई लगिँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ भदौ

हालका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पदावधी सकिँदै गर्दा उनको ठाउँमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

राष्ट्रियसभा सदस्यमा रिक्त एक स्थानका लागि गौतमलाई मन्त्रीपरिषद बैठकबाट सिफारिस गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

दुई वर्ष यताबाट उपाध्यक्ष गौतमलाई संघीय संसद तथा राष्ट्रियसभामा सांसद बनाएर लैजाने तयारी हुँदैथियो । त्यो तयारीले यतीबेला बल्ल मुर्त रुप पाउन लागेको छ । गत १४ फागुनमा नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस गर्न निर्णय गरेको थियो । तर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेकाले सो निर्णय कार्यान्वयन हुन सकेन् । त्यसपछि डा. खतिवडा ६ महिना मन्त्रीमा थपिएका थिए ।

त्यसो त यसपटक पनि ओलीले खतिवडालाई नै निरन्तरता दिनुपर्ने वताएका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल, सहित विभिन्न नेताहरुले गौतमलाई लैजाने मत राखेपछि गौतमलाई सिफारिस गर्ने निर्णय सचिवालयले गरेको हो ।

गत २० फागुन देखी राष्ट्रियसभा सदस्यमा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक पद रिक्त रहेको छ । नेकपा सचिवालय निर्णयपछि अब सरकारले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

सुरुमा राष्ट्रियसभा सदस्य हुन नखोजेका गौतमले एकाएक सदस्य सहित सरकारमा जाने आफ्नो इच्छा एवं अडान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल समक्ष राखेका थिए । सोही क्रममा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावसमेत प्रधानमन्त्री ओलीले अगाडि सारे । तर त्यो प्रस्ताव केही दिनमा तुहिएको थियो । तर यसपटक सदस्य भएपछि आगामी दिनमा प्रधानमन्त्री बन्नका लागि गौतमलाई बाटो खुलेको छ ।