शुक्रबार बिहान ४ बजेबाट राती १० बजेसम्म ललितपुरमा कफ्र्यु, घर बाहिर निक्लनेलाई गोली ठोक्न आदेश


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ भदौ

बिहिबार पुलचोक क्षेत्रमा स्थानीयले रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप गरेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरमा १९ भदौ शुक्रबार बिहान ४ बजेदेखि ललितपुरभरी कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासनले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

सो आदेश उलँघन गरेर घर बाहिर निक्लने, भेला हुने र सुरक्षाकर्मीलाई अबरोध पुर्याउनेलाई गोली समेत प्रहार गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । साथै सबैलाई घरभित्रै बस्न पनि आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले कर्फ्यू आदेश जारी गर्ने निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको जनाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको र रथलाई पुल्चोकबाट ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको नागरिकखबरलाई जानकारी दिए । यसैबीच बिहिबार अराजक क्रियाकलाप र प्रहरीमाथि हातपात गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा कारवाही गर्ने जनाईएको छ ।