ब्युटी न्युज नेपाल
पोखरा, १८ भदौ
बुधबार राति गएको भिषण बाढीपहिरोमा बागलुङको ढोरपाटन नगरपालिकामा बेपत्ता भएकामध्ये मृतकहरुको सँख्या बढेको छ भने वेपत्ता हुनेहरु ४० नाघेका छन् । घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
अहिलेसम्म त्यहाँ १० जनाको शव फेला परेको छ भने वेपत्ता हुनेहरु ४१ जना पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । प्रहरीका अनुसार नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको सँख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।
घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् ।
अरिवरल वर्षासंगै गएराति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।