अञ्जानैमा भन्दै आए प्रताप दास


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ भदौ

गायक प्रताप दासको स्वरमा एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध प्रतापले गाएको ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।

सत्यराज चौलागाईंले यो गीत रचना गरेका हुन् भने रिकेश गुरुङ यस गीतका संगीत संयोजक हुन् । यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

भिडियोमा मोडलको रुपमा दीपक घिमिरे र मिनाक्षी महताराले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ ।

नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् । निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।