सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख सहयोग


ब्युटी न्युज नेपाल 

काठमाडौं, १७ भदौ 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई गैरआवासीय नेपाली संघ एनआरएनएले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरे ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड १९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साटासाट गर्न मात्र आएको बताए । उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड (१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताए ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए ।सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पु¥याउँदा १५६ भन्दा बढी मानिसहरु प्रभावित छन् ।