एक महिलाले जन्माईन जनकपुरमा एकै पटक ४ सन्तान


ब्युटी न्युज नेपाल
जनकपुरधाम, १७ भदौ

धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले हिजो मंगलबार साँझ जनकपुरधाममा एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । जसमा ३ छोरी र एक छोरा छन् ।

शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।

ती महिलालाई प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । साधारण तरिकाले सुत्केही नभएपछि अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् । उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन् ।

चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको डाक्टर सिंह जानकारी दिए ।

तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए । मंगलबार जन्मिएका शिशुहरूको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न एक चिकित्सकले बताए ।