कालिकोटको पहिरोमा मृतक १० पुगे, घटनास्थलमै पोष्टमार्टम


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ,

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सँख्या १० जना पुगेको छ ।

त्यहाँ आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हो भने उद्धार पछि दुई जना घाईतेलाई उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी अर्को एक परिवारमा रहेको तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको पनि मृत्यु भएको छ ।

सो पहिरोमा तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पुरिएर ज्यान गएको छ । यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा मृत्यु भएको छ । उनीहरुको घटना स्थलमै पोष्टमार्टम गरेर दाहसँस्कार गरिने भएको छ ।