जुगलको संगीतमा नरेन्द्रले ल्याए निरमाया…(भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ

आठ वर्षपछि फेरी गायक नरेन्द्र बल्लभ पन्तको नयाँ गीत निरमाया मरेँ नि…को भिडियो सार्वजनिक गरेका छन् । नरेन्द्रको स्वरमा रहेको यस गीतमा सुनिल संगमको शब्द रचना रहेको छ । यसमा संगीतकार जुगल डंगोलको संगीत रहेको छ । यो गीतको संगीत संयोजना पनि जुगल कै हो भने पुतली सडकको आर्टोम्युज स्टुडियोमा गीतलाई जुगलले नै रेकर्ड तथा ध्वानी मुद्रण गरेका हुन् ।

नरेन्द्रले आठ बर्ष अगाडी जुगलको संगीतमा आफ्नो पहिलो म्यूजिक एल्बम ’अर्बान मुड्स’ बजारमा ल्याएका थिए । त्यसपछि व्यवसायमा व्यस्त रहेको कारण उनले सांगीतिक करियरलाई अगाडी बढाएनन् । सोहि एल्बमको एक गीत निरमाया (मरेँ नि… अहिले पुनः रेकर्डिंग गरी भिडियोसहित सार्वजनिक गरिएको हो । यो गीतमा लोक र रक गीतको फ्यूजन पाईन्छ ।

सुब्रत राज आचार्यको निर्देशनमा बनेको यस गीतको भिडियोमा विजु पार्की र श्रृजना जिसीको अभिनय रहेको छ । शुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ ।

सफल यूवा व्यवसायि समेत रहेका नरेन्द्रको यो गीतमा आफुलाई मन परेकी यूवतीको तारिफ गरिएको छ । व्यवसायमा माईक्रो फाईनान्सबाट करियर शुरु गरेका गायक पन्त हाल हाईड्रोपावर, रियल स्टेट, कन्ट्रक्सन, पानी तथा इनभेष्टमेन्ट कम्पनी लगायतमा आवद्द छन् । उनि अब भने संगीतमा पनि धेरै समय खर्चिने योजनामा छन् ।