स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको निधन


ब्युटी न्युज नेपाल
पोखरा, १४ भदौ,

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख (एसपी) होविन्द्र बोगटीका अनुसार दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको छ । दुबै जनाको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएको पनि बोगटीले बताए । उनीहरुलाई उपचारका लागि पोखरा ल्याईएको छ ।

दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको हो । सो एम्बुलेन्स चापाकोटबाट विरामी लिएर काठमाडौं आएको थियो । काठमाडौंबाट चापाकोट–९ निवासी तीन जनालाई लिएर जिल्ला फर्किँदै गर्दा सो एम्बुलेन्स दुर्घटनामा परेको हो ।