निराजन र सृष्टिको रोमान्टिक ‘साँझ’


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल लकडाउन हुनुअघि सँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिए । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो ।

तर, सरकारले लकडाउन खुकुलो गरेको बेला गत महिना म्युजिक भिडियो निर्माणमा तीव्रता आयो । अरुबेला फिल्ममा व्यस्त हुने कलाकार फुर्सदको समयलाई म्युजिक भिडियोमा सदुपयोग गरिरहेका देखिए । मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको रोमान्टिक गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ ।

 

 

भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् । रोमान्टिक भावको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ ।