आलु जस्ता गायक भनेपछि गीत बनाएर ट्रेन्डिङ १ मा दुर्गेश


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौ

गत महिना एउटा अन्तरवार्तापछि भाईरल भएका गायक दुर्गेश थापाले त्यसको जवाफ गीतबाट दिएका छन् । उनले आफ्नो नयाँ गीत आलु जस्तो गायक… बजारमा ल्याएका हुन् । दुई दिन अघि रिलिज गरिएको यो गीत अहिले युट्युव नेपाल ट्रेन्डिङमा पहिलो स्थानमा छ ।

गायक दुर्गेशले पत्रकार ऋषी धमलालाई प्राईट टाईम टिभीमा अन्तरवार्ता दिँदा नारायण गोपालको भन्दै भक्तराज आचार्यको गीत र यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाएपछि उनलाई एकथरी सँगीतकर्मी देखि दर्शकसम्मले आलु जस्तो गायक भने ।

त्यसपछि गुप्तबास बसेको यी गायकले यतीबेला नयाँ गीत आलु जस्तो गायक बजारमा ल्याएका छन् । यो गीतमा बसन्त थापाको सँगीत तथा शब्द रहेको छ । मोडलको रुपमा नेपाली सँगीत क्षेत्रमा प्रवेश गरेका दुर्गेशले सौखको रुपमा गीत गाउँदै आएका छन् ।

गत महिना त्यति धेरै ट्रोलको सिकार बने पनि अहिले पनि दर्शकको मायाँ पाएकोमा उनी दँग छन् । दर्शकको यो मायाँ आलु जस्तो गायकमा पाउँदा फेरी निरन्तर गाउने हौसला बढेको उनले बताएका छन् । यस अघि कहिल्यै सँगीत सम्बन्धि औपचारिक ज्ञान नलिएका उनले अब भने सँगीत केही पक्ष सिक्ने बताएका छन् ।

शिब बिकको कोरियोग्राफीमा तयार भएको उनको आलु जस्तो गायक…गीतलाई डान्सिङ स्टाईलले प्रस्तुत गरिएको छ । उनलाई प्रोत्साहन गर्न दुई अभिनेता पल शाह र पुष्प खड्का पनि अतिथिका रुपमा प्रस्तुत भएका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन पनि शिब बिककै हो ।

आफुले गल्ती गर्दा पनि हौसला दिएका रामकृष्ण ढकाल, यम बराल सहित आलोक श्री र अन्जु पन्तको भिडियो कमेन्ट पनि उनले यो गीतको शुरुमा हालेका छन् । आफु अग्रज लोक गायक धर्मराज थापाबाट प्रेरित भएको भन्दै उनले धर्मराजको हरियो डाँडा माथि गीतको एक टुक्का सुरुमा साभार गरेका छन् । आफु पनि हलो जोत्ने परिवारबाट बबाल गायक भएको उनले गीत मार्फत बताएका छन् ।