ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन
गायक शिव परियारको स्वरमा नयाँ गीत ‘लौ न बोलिदेऊ…’को भिडियो रिलिज गरिएको छ । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ..’को भिडियो बिहीबार सार्वजनिक गरिएको हो ।
यो गीतमा संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन रहेको छ । संगीतकार सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए ।
यो गीतको भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङ र मानसी तामाङको अभिनय रहेको छ । गोङग्बाको निर्देशन रहेको यो गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
‘लौ न बोलिदेऊ….’ गीत गायक परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने छ ।