शिवशंकर रिजाल ‘जोगिन्दर’ को नाममा गुट्का


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

जोगिन्दर पानवाला उपनामले हिमालय टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै आएका कलाकार शिव शंकर रिजालको यही उपनाममा गुट्का बजारमा आउने भएको छ । उनले सो टेलिभिजन कार्यक्रममा पान पसलेको रुपमा जोगिन्दर बनेर अन्तरवार्ता लिने गरेका छन् । उनको जोगिन्दर नामबाट अब नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो ।

सो गुट्का यही १९ साउनदेखि बजारमा उपलब्ध हुने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो नामबाट निस्किदा आफुलाई खुसी लागेको कलाकार रिजालले सो क्रममा बताए । नेपाली कलाकारिताको इतिहासमै कुनै पनि कलाकारको उपनामबाट निस्किन लागेको प्रोडक्ट नेपालमा सम्भवतस् यो पहिलो हो ।

‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुशी लाग्यो’ कलाकार रिजालले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भने – ‘हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउछ भने हामी खुशी हुनुपर्छ ।’

उत्पादक पूजा सुर्ती उद्योगका सञ्चालक हिरालाल शाहले पनि आफुले कम्पनी स्थापना गर्दै स्वदेशमा रोजगारीको सृजनामा लागेको बताए । उनले ब्राण्डका लागि अन्य नाम पनि कल्पना गरेका थिए, तर अरुसंग मिल्दो भएपछि आफुलाई मनपर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ बाट जोगिन्दर सापटी लिदै प्रोडक्ट नै बजारमा ल्याएका उनको भनाइ छ ।

हिरालाल स्वयं पान व्यवसायी हुन् । उनले जोगिन्दरको टेलिभिजन कार्यक्रमका नियमित दर्शक समेत हुन्, ‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाउनु भएको छ । त्यसैले उहाँको सम्मानमा प्रोडक्ट बजारमा ल्याएका हौँ’ शाहले भने ।