नेपालमा कोरोनाबाट मृत्यु बढ्यो, एकै दिनमा ४ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

नेपालमा कोरोना सँक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ । बिहिबारदेखि शुक्रबार दिउँसोसम्म २४ घन्टामै नेपालमा ४ जनाको मृत्यु कोरोना सँक्रमणबाट भयो । यी सबै बीरगञ्जका हुन् । ४ मध्य ३ जनाको बीरगञ्जमा र १ जनाको ललितपुरमा निधन भएको हो । पर्साको वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । गण्डक अस्पतालमा उपचारका क्रममा रहेका ती पुरुषको गएराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज १६ का ३५ वर्षीय पुरुषको पनि गण्डक अस्पतालमै मृत्यु भएको छ । १३ गतदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको पनि गएराती नै मृत्यु भएको हो ।

वीरगञ्ज २ का ६५ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको गण्डक अस्पतालले जनाएको छ । त्यस्तै पर्साको वीरगञ्ज ११ घर भएर ललितपुरमा बस्ने ६५ वर्षीया महिलाको शुक्रबार पनि मृत्यु भएको छ । ती महिलाको आज उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट हालसम्म ५६ जनाको मृत्यु भईसकेको छ । कोरोनाका मृतकहरुमा सबैभन्दा बढी प्रदेश २ का १८ जना रहेका छन् । प्रदेश २ का ५ वटा जिल्लाहरु धनुषामा ३ जना, पर्सामा ९ जना, बारामा ३ जना, रौतहटमा २ जना र सप्तरीमा १ जनाले ज्यान गुमाउका छन् । अहिलेसम्म २९ वटा जिल्लाका मानिसहरुले कोरोनाको कारण ज्यान गुमाएका छन् । प्रदेश १ को मोरङमा १ जनाको ज्यान गएको छ ।

बागमती प्रदेशका ५ वटा जिल्लाहरु काठमाडौंमा ४ जना, चितवनमा २ जना, ललितपुरमा २ जना, सिन्धुपाल्चोकमा २ जना र दोलखामा १ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशका ४ वटा जिल्लाहरु गोरखामा १ जना, म्याग्दीमा १ जना, वाग्लुङमा १ जना र स्याङ्जामा २ जना रहेका छन् ।

त्यस्तै प्रदेश ५ अन्तर्गत अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा १ जना, गुल्मीमा ३ जना, दाङमा १ जना, पाल्पामा १ जना, बाँकेमा २ जना र रुपन्देहीमा १  जना रहेका छन् । यता कर्णाली प्रदेशका ३ जिल्लाहरु डोल्पामा १ जना, दैलेखमा १ जना र सुर्खेतमा २ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेशका ४ जिल्लाहरु अछाममा १ जना, कैलालीमा ४ जना, बझाङमा १ जना र बाजुरामा १ जनाको ज्यान गएको छ । नेपालमा समुदाय स्तरमा कोरोना फैलिएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । तर स्वास्थ्य मन्त्रालयले भने यो कुराको पुष्टि गरिसकेको छैन ।