हेमा  र अशोक कुमारलाई ‘स्टार-२०२०’ अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन,

काठमाडौं– समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डको  ‘स्टार २०२०’ बाट सम्मानित भएका छन् ।

उनीहरुलाई महिला, बालबालिका तथा नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले मंगलबार एक समारोहका बीच सम्मानित गरेका हुन् । वर्ल्ड बुक अफ रेकर्ड विश्वव्यापी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

मानन्धर नेप्लिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष हुन् । मन्त्री गुरुङले दुबैलाई खादा लगाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

लकडाउनका कारण काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा दैनिक ज्यालादारी तथा मजदुर कराँते खेलाडीका घर परिवारहरुलाई खाधान्न सहयोग वितरण गरेर समाजमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै वर्ल्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार( २०२० को पदवीबाट उनीहरुलाई सम्मान गरिएको हो ।

उक्त समारोहमा वर्ल्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल तथा र्याप गायक निर्णय श्रेष्ठले सम्मानित व्यक्तित्वहरुलाई वधाई ज्ञापन गरेका थिए ।

एसिया, अफ्रिका र युरोपसहित विश्व्व्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, साँस्कृतिक, सांगीतिक आदि क्षेत्रहरुमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सुचिकृत र सम्मानित गर्दै आएको वर्ल्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले जानकारी दिएका छन् ।