राजधानी समाचारदाता
काठमाडौं, २ साउन
गायक डेभिड शँकरले कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई समेटेर आफ्नो नयाँ गीत पिरतीको गुन्द्री…को भिडियो बजारमा ल्याएका छन् । यो गीतमा गायक डेभिड शँकरलाई गायिका बिनी श्रेष्ठले साथ दिएकी छिन् ।
फिल्म पञ्चेबाजाको घिनिघिनी मादल…, चलचित्र छक्का पञ्जा ३ को पहिलो नम्बर…जस्ता थुप्रै सफल गीत ल्याईसकेका गायक डेभिडले यसपटक प्रेम भावको गीत पिरतीको गुन्द्री बजारमा ल्याएका हुन् ।
लकडाउनपछि बिस्तरै म्युजिक भिडियो छायाँकनको सक्रियता बढेको बेला कार्टुञ्ज क्रुका सरोज र आश्मा पनि फेरी भिडियोमा सक्रिय बनेका छन् । उनीहरुले यो भिडियोमा जोडीकै रुपमा आफुलाई प्रस्तुत गरेका छन् । भिडियोमा सरोज र आश्मा रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियो नृत्यप्रधान बनेको छ ।
भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । यो गीतमा दिपकराज विश्वकर्माको संगीत रहेको छ । गीतको रचना विष्णु बिरही श्रेष्ठले गरेका हुन् ।