गायक दुर्गेश थापा बिरुद्ध तीज गीत चोरेको भन्दै उजुरी


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असार,

गायक दुर्गेसले गत वर्षको हिट तिज गीत हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमाको दोश्रो पार्टको रुपमा यसपटक नयाँ तिज गीत ल्याएका हुन् । उनले आफ्नै युट्युब च्यानलबाट ‘लोक पपशैली’मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेका छन् । बजारमा आएसँगै यतिबेला चर्चामा रहेको यो गीतलाई चोरीको आरोप लागेको हो । लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ ।

अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालीसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली मियाँको सिर्जनाको सो लोकगीतमा त्यही अन्तरा छ ।म्युजिक नेपालले बजारमा ल्याएको यो गीतको मुख्य लाईनलाई गायक दुर्गेश थापाले जस्ताको तस्तै राखेका छन् । सोही कारण गायक थापामाथि ‘आकासमै बादलु डम्मै छ…’को अन्तरा हुबहु चोरी गरेको आरोप उनलाई लागेको हो ।

अली मिया लोक वाङ्मय प्रतिष्ठानका सचिव पद्मराज ढकालले एउटा अग्रज दिवँगत लोक श्रष्टाको गीतलाई सँरक्षण गर्नु पर्नेमा चोरी गरेर अरुले राख्नु दुःखको कुरा भएको बताए । लोक भाकाहरु चोरी हुँदैनन् । यो त सबैको सम्पत्ति हो भन्ने कुरामा यी सचिब ढकालले यस्तो भने‘हुन त लोक गीतको सिर्जना हुँदैन र यो संकलन हुन्छ भन्ने कुरालाई म केही हदसम्म मान्न तयार छु । बास्तवमा लोक भाका पो सिर्जना हुँदैन, त्यो लोक भाकाका लागि सर्जकले तयार गरेको शब्द त सर्जककै हुन्छ नि । त्यस्तैले यस्ता शब्दलाई हु बहु चोरेर अर्को गीतमा हाल्नु भनेको प्रतिलिपि अधिकार हनन् गर्नु हो ।’ यो बिषयमा उचित बार्तासहित यसको निकाश निकाल्नु पर्छ भन्ने पक्षमा आफुहरु रहेको पनि उनले बताए ।

अहिलेको सामाजिक सञ्जालको युगमा आफुहरुले बिगतमा युट्युबमा राखेको ‘आकासमै बादलु डम्मै छ’ गीत सुनेको छैन भनेर पन्छिन नपाईने पनि लोक वाङ्मय प्रतिष्ठानका सचिव पद्मराज ढकालले जबाफ दिए । यो प्रकरणमा अब के गर्ने भन्नेबारे प्रतिष्ठानका अन्य सदस्यहरूसँग सल्लाह गरेर आफुहरुले निर्णय लिने पनि ढकालले बताएका छन् ।

यता, प्रतिष्ठान उपाध्यक्ष समेत रहेकी लोकगायिका कोइरालाले आफूहरुले सो गीत गाइसकेपछि सुनेर लोक कवि अलि मियाँ निकै खुसी भएको स्मरण गरिन् । उनले भनिन्, ‘उहाँको रेकर्डेड गीतमध्ये यो दोस्रो हो । जीवनमै सबैभन्दा खुसी यो गीत सुनेर हुनुभएको मलाई सम्झना छ । मैले उहाँका हालसम्म १६ गीत गाएँ ।’ यसरी तीन दशकपछि गीत चोरी भएपछि कोइरालाले आपत्ति जनाउँदै भनिन्, ‘चोरी गर्नु राम्रो होइन । युवा भाइबहिनीलाई आफै सिर्जना गरेर गीत संगीत क्षेत्रमा लाग्न मेरो अनुरोध छ ।’

गायक दुर्गेशले यो अन्तरा शब्दलाई आफ्नो गीतको तेस्रो अन्तरामा राखेका छन् । तर गायक थापाले यो गीत आफुले जानी जानी चोरी नगरेको र अन्जानबस भएको बताएका छन् । गायक दुर्गेश थापाले आफूले सानोमा गाउँघरमा उक्त भाकाको गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेरै प्रयोग नगरेको स्वीकारेका छन् ।

आफुले बाल्यकालमा सुनेका केही शब्दहरु यो गीतमा प्रयोग गरेको बताउँदै दुर्गेसले भने,‘बाल्यकालमै गाएको गीतको आधारमा पानी धाराको भन्ने गीत बनाएको थिएँ । त्यो गीत पनि गाउँघरमै गाउने गीत हो । खासमा मैले गाउँघरको गीत बाहिर आओस भनेर आफ्ना गीतमा त्यतिबेला सुनेका कतिपय शब्द र लयलाई प्रयोग गर्दै आएको छु ।

यो गीत अली मियाँले लेख्नु भएको आफुलाई थाहा नभएको र गाउँतिर प्रयोग भएको यो शब्द स्थानीय गीतमा राखेर गाउने गरिएको दुर्गेशले बताएका छन् । पहिले पहिले गाउँघरमा गाउने गरेको यो गीतको नालीबाली बल्ल आफुले थाहा पाएको पनि उनले बताएका छन् । यसै बिषयमा दुर्गेश थापाले मिडियालाई प्रतिक्रिया दिने क्रममा भनेका छन्,‘पहिले पहिले बच्चामा हामीले गाइन्थ्यो । यो बच्चामा गाएको गीत हो । सानोमा गाएको भनेर प्रयोग गर्यौ । संयोगले उहाँसँग मिल्न गएछ । कालो बादल आकाशैमा डम्मै छ भनेको थिएँ । आकाशैमा भएकै कारण उहाँसँग मिल्न गयो । ’

दुर्गेशले अगाडि थपे,‘हेर्नुस न यस्तो बेलामा पनि यती धेरै खर्च गरेर निकै दिनको तयारपछि यो गीत बनाएको छु । त्यो एक लाईन चोरेर मैले के नै जित्नु छ र । त्यसैले यो अन्जानबस भएको हो । मैले थाहा पाएर चोरेको पनि होइन । यो गीत ३ जना मिलेर बनाएका हौंं । आफुले गीत लेख्दा त्यो शब्द बिगतमा कसेले प्रयोग गरेको थियो भनेर हामीले जानकारी नै पाएनौं । त्यसैले यसलाई बिबादमा नल्याउन हाम्रो अनुरोध छ ।’ अब यो बिबादले कुन रुप लिन्छ । त्यो हेर्न बाँकी छ ।