साम्राज्ञीको आरोप बिरुद्ध भुवनद्धारा कलाकार संघमा न्याय माग


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको आरोप प्रत्यारोपको बिबाद बढेको छ । यसै क्रममा साम्राज्ञीले आफु बिरुद्ध विभिन्न आरोप लगाउँदै मानहानी गरेको भन्दै अभिनेता भुवन केसी नेपाल चलचित्र कलाकार संघमा न्यायको लागि निवेदन दिएका छन् ।

लाकारहरुको बिबाद मिलाउन नेपाल चलचित्र कलाकार संघले गठन गरेको अनुशासन समितिमा कलाकार केसीले न्यायको माग गर्दै निवेदन हालेका हुन् । उनले प्रहरीमा पनि यो प्रकरणको छानविनको लागि उजुरी हाल्ने बताएका छन् ।

अभिनेत्री साम्राज्ञीले ६ वर्ष अघि चलचित्र ड्रीम्सको छायाँकनको क्रममा आफुलाई राम्ररी खान नदिएको, पिउने पानी पनि सोही अनुसार उपलब्ध नगराएको देखि विभिन्न शोषणा गरेको दाबी सहित दुई ओटा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै भुवन केसीमाथि आरोप लगाएकी छिन् । गत वर्ष जापानमा सम्पन्न सूर्य अवार्डमा समेत भुवन केसीले मद्यपान गरेर आफुसँग टाँस्सिएर छोरी आईलभयु भनेको र खराब नियतले कुरा गरेको आरोप एउटा भिडियो मार्फत साम्राज्ञीले लगाएकी छिन् ।

सो आरोपबारे छानिबिन होस भन्ने माग गर्दै अभिनेता निर्माता भुवन केसीले बिहिबार नेपाल चलचित्र कलाकार संघमा न्यायको लागि निवेदन दिएका हुन् । आफुमाथि कपोलकल्पित आरोप लगाएको भन्दै त्यतिबेला छायाँकनमा रहेका कलाकार र प्राविधिकहरुलाई सोध्नका लागि पनि अभिनेता भुवन केसीले कलाकार संघलाई अनुरोध गरेका छन् । अभिनेता भुवन केसीले आफ्नो चरित्र हत्या गर्ने काम साम्राज्ञी राज्यलक्ष्मी शाहबाट भएको पनि सो निवेदनमा लेखेका छन् । सो निवेदनमा गरिएको मागलाई तत्काल सम्बोधन र उचित कारवाही गर्न अनुशासन समितिलाई कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले बिहिबार नै निर्देशन दिईसकेका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दुबै पक्षलाई बोलाएर यो बिषयमा बार्ता गराएर मिलाउने कोशिश आफुहरुले गर्ने बताएका छन् । उनले बिहिबार एक विज्ञप्ति जारी गर्दै निवेदनमाथि छानविन र सहजिकरणको प्रयासगर्ने बताए । साथै पछिल्लो समय कलाकारहरुले बोलेका कुराहरु बिबादमा आएकाले बोल्दा सँयमता अपनाउन पनि अपिल गरेका छन् ।

यस्तै पाँच वर्ष अघि यदि छायाँकनको क्रममा दुव्र्यवहार नै भएको थियो भने आजसम्म के हेरेर साम्राज्ञी बसिन् भनेर अहिले प्रश्न उठाईएको छ । त्यतिबेला आफु नयाँ भएको र बोल्न सक्ने अबस्थामा नरहेको जिकिर यी अभिनेत्रीले गरेकी छिन् । तर दर्शकहरुले त्यसलाई मानेका छैनन् ।
नेपाल चलचित्र कलाकार संघले यी दुईको यो बिबादलाई न्याय दिन सक्छ की सक्दैन त्यो भने हेर्न बाँकी छ ।