मोरङको कानेपोखरीमा स्कोरपिओको ठक्करबाट ३ जनाको निधन 


ब्युटी न्युज नेपाल

बिराटनगर १२ असार

हिजो राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा गाडीले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । तिब्रगतीमा दमकबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ गाडीको ठक्करबाट ३ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार सडकमा हिडेको १ बटुवा र मोटरसाईकलमा सवार २ जनाको ज्यान सो गाडीले लिएको छ ।

गिरीका अनुसार सुरुमा स्कोरपिओले सोही दिशामा पैदल हिँडीरहेकी स्थानी करिब ४५ वर्षकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो । त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार  झापा बाह्रदशीका ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।

गिरीका अनुसार लिम्बुको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भयो ।

स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ । झापाको दमकमा दुई जनालाई छाडेर स्कोरपिओ इटहरीतर्फ फर्कँदा दुर्घटना भएको डीएसपी गिरीले बताएका छन् ।