५० हजार घुस लिएको भन्दै इन्स्पेक्टर र वकिल पक्राउ


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, १२ असार,

५० हजार रुपैयाँ घुससहित बिहीबार धनगढीमा प्रहरी इन्स्पेक्टर र एकजना कानुनी ब्यबसायी (वकिल) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका हुन ।

आफ्नो कञ्चनपुर टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्टमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको पनि कोईरालाले बताए ।