कोरोनाबाट कतारमा यो साता ३ नेपालीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

यो साता विदेशमा रहेका थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको गैर आबासिय नेपाली संघ (एनआरएनए)ले एक बिज्ञप्ति मार्फत जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारमा रहेका नेपाली हुन् ।

गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको पनि एनआरको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

यस्तै हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएको पनि उनले जानकारी गराए । संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको पनि सापकोटाको कथन छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले बताएका छन् ।