ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

मुलुकमा कोरोना सँक्रमण फैलिँदै गएपछि करिब तीन महिना देखि गीतसँगीत तथा म्युजिक भिडियो निर्माण बन्द जस्तै थियो । लकडाउन खुकुलो भएपछि गीत रेकर्डिङ तथा म्युजिक भिडियो छायाँकन सुरु भएको छ ।
यसै क्रममा अभिनेता पल शाह, सागर लम्साल (बले)समेतलाई समेटेर छायाँकन गर्दै नयाँ गीत ए है माया…को भिडियो बजारमा ल्याईएको छ ।

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरी यो भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । बिहिबार रिलिज गरिएको यो भिडियो शुक्रबारसम्म युट्युब ट्रेन्डिङमा पाँचौं स्थानमा छ । भिडियोमा पल, सागर, रियाशा दाहालसँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन् । यो गीतमा दिपक शर्माको संगीत गरेका हुन् ।

यो गीतलाई मेलिना राई र सरोज ओलीले गाएका हुन् । गीतको शब्द र भिडियो निर्देशन पनि गायक ओलीकै हो । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतिले खिचेका हुन् ।

भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ । भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ ।